Kathmandu Press

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक 

बैठकले सरकारबारे निर्णय गर्ने बताइएको छ । त्यसका लागि पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई पनि बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक 
फाइल तस्बिर

काठमाडौं, माघ १९ : सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।  

पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।  

आजको बैठकले सरकारबारे निर्णय गर्नसक्ने आकलन गरिएको छ । बैठकमा सरकारमा रहेका मन्त्रीहरुलाई पनि अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।  बैठक बोलाउनुअघि रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत मौन बस्ने आज अन्तिम दिन रहेको बताएका थिए । उनले आफू अभिमन्यू समेत नरहेको चेतावनी दिएका थिए । 

उपप्रधानमन्त्री सहित गृहमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएका रास्वपा सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्चले चितवन–२ मा पुनः निर्वाचन गर्नसमेत निर्देशन दिएको थियो । 

सांसद पद गुमेपनि लामिछाने गैरसांसदको हैसियतले पुनः गृहमन्त्री बन्ने दौडधुपमा लागेका थिए । उनले पटकपटक एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी आफूलाई पुनः गृहमन्त्री बनाउन दबाब दिएका थिए । एमाले अध्यक्ष ओली रविको मागप्रति सकारात्मक देखिएपनि प्रधानमन्त्री र माओवादी केन्द्रले भने सर्वोच्चको पूर्णपाठ नआउन्जेलसम्म गृहमन्त्रीबारे कुनैपनि निर्णय नहुने बताउँदै आएको छ । 

रास्वपाभित्र भने सभापति बाहेक अन्य सांसदलाई गृहमन्त्रीमा पठाउन सकिनेबारे पनि मत उठिरहेको छ । यसका लागि प्रधानमन्त्रीले रास्वापलाई नै गृहमन्त्री दिनुपर्ने आवाज उठ्दै आएको छ । तर, प्रधानमन्त्रीले अडान नछाड्दा सत्ता गठबन्धनसमेत संकटमा परेको छ । आज बस्ने बैठकको निर्णयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्नेछ । 

 

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्