रविले भने- मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन
अभिमन्युलाई प्रतीक बनाएर लामिछानले आफू ती पात्रजस्ताे नभएको, आफूलाई राजनीतिक चक्व्यूहमा कसैले फसाउन नसक्ने, आफू अब चुप लागेर नबस्ने, जस्तोसुकै अप्ठ्याराहरू पनि चिर्न आफू सक्षम रहेको सन्देश दिन खोजेको भनी अर्थ्याउन सकिन्छ।
काठमाडाैं, माघ १९ : यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे मिडियामा अनेक तरहले चर्चापरिचर्चा हुने गरेको छ।
नागरिकता नभएका कारण उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद पद र पार्टी पद गुमाएका उनी पुनः रास्वपा सभापति त भएका छन्। गैरसंसादलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिने संवैधानिक अधिकारको उपयोग गरेर उनी फेरि पनि गृहमन्त्री हुने दाउमा छन्।
त्यसकारण उनी घरी बालकोटमा पुगेर एमाले अध्यक्ष केपी ओलीलाई र घरी बालुवाटार पुगेर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिरहेका छन्। उनलाई ओलीले गृहमन्त्री बनाउने भनेर वचन दिए पनि प्रचण्डले भने उनको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म र राहदानी विवाद नसल्टिएसम्म गृह मन्त्रालय नदिने पक्षमा छन्। फेरि पनि गृह मन्त्रालयमै जान खोजिरहेको भन्दै उनको आलोचना पनि भइरहेको छ।
पछिल्लो समय मौनता साध्दै आएका लामिछानेले आज (बिहीबार) आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू अभिमन्यु नभएको समेत बताएका छन्। उनले अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न आग्रह गरेका छन्।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नुहोला, लेखिहाल्नु होला,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् अभिमन्यु जो अर्जुनका पुत्र पनि हुन्। महाभारतको युद्ध भइरहँदा रणभूमिमा कौरवहरूको चक्रव्यूहभित्र अभिमन्यु फसे। त्यहाँबाट निस्कने उपाय निकाल्न नसक्दा त्यही नै उनको हत्या भयो।
अभिमन्युलाई प्रतीक बनाएर लामिछानले आफू ती पात्रजस्ताे नभएको, आफूलाई राजनीतिक चक्व्यूहमा कसैले फसाउन नसक्ने, आफू अब चुप लागेर नबस्ने, जस्तोसुकै अप्ठ्याराहरू पनि चिर्न आफू सक्षम रहेको सन्देश दिन खोजेको देखिन्छ।
आजसम्म कसैकाे आलोचनाको जवाफ नदिएका लामिछानेले यस्ताे अभिव्यक्ति दिनुलाई महत्त्वका साथ हेरिएको छ। यसलाइ उनी सरकार छाडेर फरक ढंगले पार्टी गतिविधलाई अघि बढाउन सक्रिय हुने र जनतालाई रिझाउनतिर लाग्ने भनेर पनि बुझ्रन सकिन्छ।











