सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्छ : ओली
आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएकाले उक्त सहमतिअनुसार अघि बढ्नुपर्नेमा जाेड दिएका हुन्।
काठमाडौं, माघ १९ : एमाले अध्यक्ष केपी ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै पाउनुपर्नेमा जोड दिएका छन्।
आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएकाले उक्त सहमतिअनुसार अघि बढ्नुपर्नेमा जाेड दिएका हुन्।
सरकार गठनका बेला भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई दिइसकिएको हुनाले अदालतको पूर्णपाठ कुरिरहनुनपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रास्वपा सभापति रवि लामिछानेको नागरिकताबारे गरिएको फैसलाबारे अदालतबाट पूर्णपाठ नआएसम्म गृह मन्त्रालय नदिने बताएका थिए। उनले गृह मन्त्रालय रास्वपालाई दिने विषयमा छलफलको आवश्यकता नै नरहेको जिकिर पनि गरे।
उनले राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको उनको भनाइ थियो।
माओवादी केन्द्रका केही नेता कांग्रेसतिर ढल्किएर फरक अभिव्यक्ति दिने गरे पनि सो पार्टी सहमतिभन्दा बाहिर जाला जस्तो आफूलाई नलागेको ओलीले बताए। कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अस्वाभाविक नभएको उनको भनाइ थियो।