चित्रकलाले राष्ट्रको गरिमा र उचाई बढ्छ : प्रधानमन्त्री

काठमाडौं, माघ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् ।
बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कला क्षेत्रमा नेपाललाई स्थापित गर्न ललितकला प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईँहरुले खेलेको भूमिका प्रशंशनीय छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकलाको जग बसालेको र अहिले स्थापनको १२ औं वर्ष पुग्दा आफूलाई पनि खुशी र गर्वको महसुस भएको बताए । चित्रकला र प्रतिकलाले राष्ट्रको गरिमा र उचाइ बढाउने पनि प्रधानमन्त्रीले बताए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्नुका साथै ललितकला सम्बन्धी सिर्जनाहरुको अवलोकन गरेका थिए ।











