राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, माघ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएका हुन् ।
आजको बैठकमा समसामयिक राजनीतिक अवस्थाको समिक्षा, पार्टीको भूमिका र केन्द्रीय कार्यसमितिको बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा भने राप्रपा मौन बसेको छ । यसबारेमा सार्वजनिक टिप्पणी नगरेपनि राप्रपा पनि सरकारमा सहभागि भएका कारण पार्टीको आन्तरिक बैठकमा भने विषयले प्रवेश पाउने सम्भावना रहन्छ ।
नागरिकता सम्बन्धी विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री पद गुमेपछि सत्ता गठबन्धन नै संकटमा परेको चर्चा हुन थालेको छ । गठबन्धनकै एक घटक भएका कारण राप्रपाले आजको बैठकमा यसबारेमा पनि छलफल गर्ने सम्भावना छ ।











