नेकपाले पुस २७ अघि सभामुखको नाम टुंगो लगाउँछ: दिनानाथ शर्मा
काठमाडौं, पुस २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले पुस २७ ग....
काठमाडौं, पुस २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले पुस २७ गते अघि नै सभामुखको नाम टुंगो लाग्ने बताएका छन्।
सभामुखमा पूर्वमाओवादी समूहको दाबी रहेको बताउँदै शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठक अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुंगो लाग्ने बताएका हुन्।सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘अहिले पनि उपसभामुख हाम्रै पार्टीको हुनुहुन्छ। हामीले सभामुखको टुंगो लगाएपछि उहाँले राजीनामा दिनुहुन्छ।’
उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे। उनले भने,‘हामी पुस २७ गतेभित्रै यो सबै कुराको टुंगो लगाउँछौं। जो भएपनि नेकपाकै हुनुहुन्छ।’ उनले नेकपामा अब पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र कोही पनि नभएको जिकिर गरे। शर्माले भने,‘पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन। मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें। यदि कोही नेताहरुसँग यो कुरा छ भने तपाईंहरुले पनि डिलिट गर्नुहोस्।’
उनले पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्ति केन्द्रित छलफल नभएको स्पष्ट पारे। शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। उहाँहरुले दुई-तीन मिनेटमै टुंगो लगाउने भन्नुभएको छ। उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ। यसमा कुनै समस्या छैन।’




