Kathmandu Press

गोलभेंडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन्। हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन्। 
गोलभेंडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही, माघ १८ : गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन्।

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन्। हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन्। 

प्रतिकेजी रू छ देखि आठमा बेच्नुपर्दा लागत उठाउन मुस्किल भएको हरिवन नगरपालिका–२, आँमटोलका किसान रामपुकार महतोले गुनासो गरे। 'सुरुमा एक क्रेटको रू एक हजार दुई सयसम्म हुन्थ्यो तर अहिले एक सय ५० मा बेच्नु परेको छ', उनले भने। भारतबाट गोलभेँडा भित्रिदा यहाँका किसान मारमा परेका उहाँको भनाइ थियो।

लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले क्रेटको रू डेढ सयका दरले बेच्नु पर्दा लागत उठाउन नै समस्या भइरहेको बताए। उनका अनुसार काठमाडौँका व्यापारीले पनि किसानबाट सस्तोमा गोलभेँडा किन्ने गरेका छन्।

लालबन्दी नगरपालिका–१ नवलपुरका किसान रामचरित्र कुशवाहले १० कठ्ठामा गोलभेँडा खेती गरेका छन्। 'बजारमा व्यापारीले भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्', उनले भने।

खेतमा पाकेका गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य छन्। पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान मारमा परेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए।

बजारमा अहिले भारतीय गोलभेँडा धेरै भित्रिएको छ, जिल्लामा पनि धेरै नै उत्पादन हुँदा किसानले उचित मूल्य पाउन नसकेका कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका व्यापारी तोरनबहादुर मगरले बताए। 

 जिल्लाको लालबन्दी, रानीगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती गरिन्छ। लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा काठमाडौँको कालीमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ। 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसानले संयुक्त रुपमा बजार भाउ तोक्नुपर्ने बताए। स्थानीय सरकारले बेवास्था गर्दा आफूहरु मर्कामा परेको किसानहरुको गुनासो छ।

प्रकाशित मिति: १५:२० बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्