शताब्दी अघिको ‘विवाहको प्रस्ताव’ शैली थिएटरमा
काठमाडौं, पुस २१ : रुसी साहित्यकार आन्तोन चेकोभको एकाङ्की ‘द म्यारिज प्रपोजल’को नेपाली अनुवाद ‘विवाहको प्रस्ताव’ नाटक मञ्....

काठमाडौं, पुस २१ : रुसी साहित्यकार आन्तोन चेकोभको एकाङ्की ‘द म्यारिज प्रपोजल’को नेपाली अनुवाद ‘विवाहको प्रस्ताव’ नाटक मञ्चन हुन थालेको छ।
एक शताब्दीभन्दा अघि मञ्चन भएको नाटक ‘विवाहको प्रस्ताव’ अहिलेको नेपाली परिवेशसँग मिल्छ। राजनीतिक र सामाजिक प्रतिष्ठाका लागि देखावटी आडम्बरमा बाच्दै गर्दा आफ्नो नैतिक धरातललाई बिर्सिएको गएको विषयवस्तु यसमा उठान गरिएको छ। जसले गर्दा मान्छेलाई बेचैन र छटपटीमा बाच्नु परिरहेको अवस्थालाई यसले छर्लङ्ग पारेको छ।
प्रशस्त जग्गा–जमिन भएका आडमा राजनीति असफलतालाई समाजमा लुकाउँदै आएका स्टिपान स्टेपानोभिच चुबुकोभलाई अन्तर मनमा भने हिनताबोध भइराख्छ। उनलाई छोरीको विवाह चिन्ताले पनि सताइरहेको हुन्छ।
नटालिया स्टेपोभना र विवाहको प्रस्ताव लिएर आएका इभान भ्यासिलियिच लामोभ पहिलो कुराकानीमै जग्गाजमिनको विषयमा भनाभन हुन्छ। दाेस्राे पटककाे भेटमा पनि नटालिया र इभानबीच विवाद नै हुन्छ। त्यसमा पनि उनीहरुबीच कसको कुकुर राम्रो भन्ने गलफती चल्छ। उनीहरु विवाहको विषय बिर्सेर एक–अर्काको कमजोरी खोतल्छन्।
समय र सन्दर्भलाई ध्यान दिन नसक्दा विवाहको विषयभन्दा पनि अन्य विषयमा अल्झिरहेको देखाएका दछन्। आफैंले उत्पन्न गरेको मानसिक द्वन्द्वमा कसरी मान्छे फसिरहेका छन् भन्ने नाटकले देखाउन खोजेको छ।
रुसी साहित्यकार चेकोभले यसलाई सन् १८८८–१८८९ मा लेखेका थिए। यो सन् १८९० मा पहिलो पटक मञ्चन भएको थियो। यतिका वर्षपछि यो नाटक अहिलेको नेपाली समाज र मनोदशासँग मिलेको छ।
यसलाई सबिन न्यौपाने नेपालीमा अनुवाद गरेका हुन्। यसलाई नवराज बुढाथोकीको निर्देशन गरेका हुन्।
यसमा सुवास सुवेदी, स्नेहा पौडेल, शशांक बोहरा, देवेन्द्र बब्लु, भारती रिजाल, विशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले, सदीन लुइँटेल, सन्तोष बराईली र रविन तामाङको अभियन रहेको छ।
यो नाटक रातो पुलस्थित शैली थिएटरमा माघ १० गतेसम्म चल्नेछ ।












