Kathmandu Press

रास्वपालाई गृह मन्त्रालय नदिने प्रधानमन्त्रीकाे निर्णय

नागरिकताका कारण सांसद गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन दबाब दिन थालेपछि अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् ।
रास्वपालाई गृह मन्त्रालय नदिने प्रधानमन्त्रीकाे निर्णय

काठमाडाैं, माघ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने भएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई नदिने निर्णय सुनाएका थिए ।

नागरिकताका कारण सांसद गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन दबाब दिन थालेपछि अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् । 

लामिछाने मंगलबार बिहानै प्रधामन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले आफूलाई ६ महिनाका लागि गैरसांसदका रूपमा गृहमन्त्री बनाउन माग गरेका थिए । गैर सांसद मन्त्री बन्ने संवैधानिक व्यवस्थाअनुसार नै आफूलाई गृहमन्त्रीमा फर्काउन उनको माग थियो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले भने गृहमन्त्री यसअघि आफ्नो पार्टीको भागमा परेको र त्यसको पालना गर्दै तत्काल पार्टीबाट गृहमन्त्रीको नाम पठाउन माग गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । 

प्रधानमन्त्रीले सरकार गठनताका भएको भागबण्डाका आधारमा रास्वपाबाट गृहमन्त्री बन्ने व्यक्तिको नाम माग्नुपर्ने ढकालको भनाइ थियो । 

पार्टीलाई गृहमन्त्री नदिएको अवस्थामा केन्द्रीय समितिको बैठक आह्वान गरिने र सरकारबाट बाहिरिनेसम्मको निर्णय लिनसक्ने अवस्थामा पुगिएको पनि ढकालले बताए । केहीदिनभित्रै पछिल्लो राजनीतिको समीक्षा र आगामी योजनाबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाउन लागेको बताइएको छ।

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्