लामिछानेको मुद्दामा सर्वोच्चको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय नगर्ने

काठमााडौं, माघ १७ : नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नहुने स्पष्ट पारेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नहुने र प्रधानमन्त्री मातहतमै रहने स्पष्ट पारेको हो । बैठकपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ कुर्नुपर्ने सुझाव आएको बताए ।
उनले वर्तमान सत्ता गठबन्धनलाई टुट्न नदिन निरन्तर छलफल भइरहेको बताउनुभयो । सवै बिषयमा सल्लाह भइरहेको र ठोस निष्कर्षमा पुगिने उनको भनाइ छ ।
त्यस्तै माओवादी प्रवक्ता कृष्ण बहादुर महराले अदालतबाट पूर्णपाठ आउन बाँकी रहेकाले फैसला नआएसम्म निर्णय नहुने जानकारी दिए। अहिले प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनले बताए । उनले राष्ट्रपति निर्वाचनका बिषयमा एमालेसहितको राष्ट्रिय सहमति खोजिने उल्लेख गरे। पदाधिकारी बैठकमा स्थायी कमिटी बैठकको सम्पूर्ण तयारी गरिएको प्रवक्ता महराले बताए।
स्थायी कमिटी बैठक बुधबार बस्ने र महत्वपूर्ण निर्णय गर्दै बुधबार नै सम्पन्न गर्ने माओवादी तयारी छ । माओवादीले कम्तीमा तीन महिनाको कार्ययोजना बनाएर त्यही अनुसार जिम्मेवारी बाँडफाट गर्ने तयारी गरेको प्रवक्ता महराले जानकारी दिए।











