Kathmandu Press

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउन पर्यटनमन्त्रीको जोड

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउन पर्यटनमन्त्रीको जोड

काठमाडौं, माघ १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन् । 

पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उनको भनाइ थियो । ‘कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ,’ मन्त्री किरातीले भने। 
 
पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उनको निर्देशन थियो । 
 
राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताइन् । पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो । 

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिए। उनले पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने पनि बताए।  
 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्