गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं, माघ १७ : राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नछाड्ने अडान लिएको छ । मंगलबार रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृह मन्त्रालय आफ्नो पार्टीलाई दिन पुनः माग गरेका हुन् ।
सरकार निर्माण हुँदा गरिएको सहमति अनुसार रास्वपाले गृह मन्त्रालय लिएको कारण कुनैपनि हालतमा सहमति अनुसार गृहमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताएका हुन् ।
उनले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले सहमति पालना नभए देशको राजनीति र रास्वपाको स्थान पुस १० गते अगाडिमा फर्किने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् । माओवादीभित्र सरकार आफ्नो नेतृत्वमा रहेका कारण गृहमन्त्री पनि आफ्नै पार्टीको हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह गरेका थिए।











