Kathmandu Press

सहिदहरुको त्याग र बलिदानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त : प्रधानमन्त्री

सहिद दिवसका अवसर पारेर काठमाडौं महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'सहिदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन्।'
सहिदहरुको त्याग र बलिदानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त : प्रधानमन्त्री

काठमाडौं, माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने सहिदहरु अमर र अजर हुने बताएका छन्। सहिद दिवसका अवसर पारेर काठमाडौं महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'सहिदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन्।'

संघीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि सहिदहरुको त्याग र बलिदान नै प्रमुख रुपमा रहेको उनको भनाइ थियो। समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा सहिदहरुले भूमिका खेलिरहेको जनाउँदै उनले सहिद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए। 

'हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं। सहिदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले सहिदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो। म यही सङ्कल्पका निम्ति सबैसँग अपिल गर्दछु', उनले भने।  

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सहिदहरुले देखेको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको बताए। शान्त, समृद्ध र विकसित नेपाल बनाउनसके मात्र सहिदको आत्माले शान्ति पाउने जनाउँदै उनले भने, 'सहिदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरु जो जहाँजहाँ छौँ, आआफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरौँ। सबैसमक्ष मेरो यही अनुरोध छ।'

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुग्न नेपाल आमाका धेरै सन्ततिको त्याग, तपस्या र बलिदान रहेको सर्वविदितै रहेको जनाउँदै प्रमुख शाहले आफ्नो जीवनउत्सर्ग गर्ने सहिदको बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए। 

'अमर सहिदलाई स्मरण गर्ने आजको दिनलाई मैले महत्वपूर्ण र पवित्र पावन दिनका रुपमा  लिएको छु', उनले भने। 

सहिद सप्ताहको अन्तिम दिन पारेर महानगरद्वारा आज आयोजित सो कार्यक्रममा प्रधानमन्त्री दाहालले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिद स्तम्भमा पुष्पहार अर्पण गरेका थिए। 

सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो। कार्यक्रमअघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो। 

कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीसहित कामपाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी थिए। हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्