Kathmandu Press

प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

काठमाडौं, माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ। 

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन्। भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे। सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी थिइन्। 

prachanda and nuland1675061958.jpg

उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूताबासले जनाएको छ । साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सगाल्ने छिन्।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी हुन्।  त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन्। 

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्। 

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन्। 

उप–विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन्। उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छ्न। 

उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन्। 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्