Kathmandu Press

जनताका काम द्रुतगतिमा गर्न मन्त्री मोदीकाे निर्देशन

जनताका काम द्रुतगतिमा गर्न मन्त्री मोदीकाे निर्देशन

काठमाडौं, माघ १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज उनले निर्देशन दिँदै सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राखे । उनले भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने बताउँदै  आफ्नो कार्यकालमा बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए कडा कारबाही हुने चेतावनी दिए। मन्त्री मोदीले  जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्नपनि निर्देशन दिए। 

उनले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरण्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीहरूलाई काममा लगाइने धारणा राखे। मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कार्यालयको शौचालय र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरे । मन्त्री मोदीले स्थानीय तहका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको यस सन्दर्भमा अनुसन्धान एवं अध्ययन भइरहेको भन्दै सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको जानकारी दिए। उनले सङ्घीय निजामती ऐनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उल्लेख गरे।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्ला वस्तुस्थितिका बारेमा जानकारी दिँदै जनतालाई सहज ढङ्गले सेवा प्रवाह हुने प्रतिबद्धता व्यक्त गरे। प्रजिअ भट्टराईले राष्ट्रसेवक कर्मचारीहरू कानूनको परिधिभित्र रहेर काम गर्नुपर्ने भन्दै जनतालाई अनुभूति दिलाउने किसिमको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्