Kathmandu Press

मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

जनकपुर, माघ १५ : मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गरेका छन्। गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आज पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री यादवले बजेटमा भएका प्रावधानअनुसार चालु खर्चलाई मितव्ययी बनाउँदै खर्च कटौती गर्ने र पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले जानकारी दिए। 

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते बिनाविभागीय मन्त्रीसँगै शपथ लिएका थिए। 

मुख्यमन्त्री यादवले माघ १२ गते बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए। मुख्यमन्त्री यादवले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए। 

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । 

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्