रवि लामिछानेलाई पुनः रास्वपा सभापतिकाे जिम्मेवारी
रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको बताइएको छ।
काठमाडौं, माघ १५ : नागरिकताविहीन भएपछि मन्त्री र पार्टी पदबाट मुक्त भएका रवि लामिछानेलाई पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बनेका छन्।
नेपाली जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज (आइतबार) नागरिकताको प्रमाणपत्र लिएपछि लामिछाने पुनः रास्वपाका सभापति बनेका हुन्। रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको बताइएको छ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो। नागरिकताविहीन हुँदा उनी सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिबाट मुक्त भएका थिए।
उनी पदमुक्त भएसँगै पार्टी उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो।
प्रकाशित मिति: १७:१३ बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











