Kathmandu Press

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविलाई आजै पार्टीको सभापति बनाउने तयारी 

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविलाई आजै पार्टीको सभापति बनाउने तयारी 

काठमाडौं, माघ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टीको सभापति बनाउने तयारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि उनलाई पुनः पार्टीको सभापति बनाउन लागिएको हो । 

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आज साँझ बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए । 'उहाँलाई आजै सभापति घोषणा गर्ने निर्णय भइसकेको छैन, आज साँझ बैठक बसेर त्यसबारेमा निर्णय गर्छौँ,’ परियारले भने । 

रास्वपाले सरकारका विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने परियारले जानकारी दिए । उनले भने, ‘सत्ता गठबन्धनका अन्य दलसँग पनि यसबारेमा छलफल हुन्छ । सरकारबारे अहिल्यै निर्णय भएको छैन।’

सत्ता गठबन्धनभित्र रास्वपाले कुनैपनि हालतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नछाड्ने बताउँदै आएको चर्चा छ । गृहमन्त्री रवि लामिछानेले नभई पार्टीले भएको भन्दै पार्टीका अन्य व्यक्तिलाई सरकारमा पठाउन सकिने रास्वपाको तर्क छ । 

अर्कातिर रवि लामिछानेलाई गैरसांसदको हैसियतमा उनले यसअघि पाएकै मन्त्रालय दिने तयारी भएको चर्चा पनि छ । गैरसांसद मन्त्रीले ६ महिनाभित्र चुनिएर आउनुपर्ने प्रावधान छ । 
 

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्