Kathmandu Press

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, 'तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो।
महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

काठमाडाैं, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।

मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, 'तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जेजति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ।' 

प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताए। उनले भने, 'यो न्यायोचित माग हो।  यसमा हामी छलफल गर्नेछौं। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जेजति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्बोधन गरिनेछ।'

२७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे। प्रधानमन्त्री दाहालले भने, 'यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।'

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गरे। प्रधानमन्त्रीले भने, 'गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ। उहाँहरुलेसङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ।' 

महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उहाँले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए। 'स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन। पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ', उनले भने।

प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशिल व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए। उनले कानुनको  प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती रहेको स्पष्ट पारे। 'हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ', प्रधानमन्त्रीले भने।

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्