कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ
स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने बताए।
स्याङ्जा, माघ १४ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा २ बाट निर्वाचित भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा वालिङमा आयोजित कार्यक्रममा उनले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताए।
‘जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ’, उनले भने, ‘यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले विश्वास गर्नुहुन्छ, नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ।’
स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने बताए।
निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने उनले दाबी गरे। उलने भने, ‘जनताले कांग्रेस र मलाई विश्वास गरेर जिम्मेवारी दिनुभएको छ। जनताको अमूल्य मतबाट प्राप्त जिम्मेवारीलाई पूरा गरेरै छाड्छु, विश्वस्त हुनुहोस् बीचमै छाड्दिनँ।’











