‘हाम्रो माग सम्बोधन नभएसम्म कुनै पनि सरकारमा सहभागी हुँदैनौं’
रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र सुदुरपश्चिम सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले दुवै सरकारमा सहभागी नहुने उनले बताइन्।
काठमाडाैं, माघ १४ : पार्टीको माग पुरा नभएसम्म नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमै बस्ने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो माग सम्बोधन नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छिन्।
रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र सुदुरपश्चिम सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले दुवै सरकारमा सहभागी नहुने उनले बताइन्।
अध्यक्ष श्रेष्ठले सरकारले आफूहरुसँग गरेको प्रतिबद्धता पुरा भएपछि सरकारमा सहभागी हुने बताउँदै त्यो नभए सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने उल्लेख गरिन्।
उनले सरकारले आफूहरुको माग पुरा नगरेपछि आफूहरु सदनमा प्रतिपक्षकै बेन्चमा बस्ने बताइन् । अध्यक्ष श्रेष्ठले टिकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरिन् ।