राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न'हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
उनले अहिले बनेको समीकरणअनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरशः पालना गर्नुपर्नेमा जाेड दिए।
सिन्धुपाल्चोक, माघ १४ : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन्।
उनले अहिले बनेको समीकरणअनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरशः पालना गर्नुपर्नेमा जाेड दिए।
एमाले सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए। एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो।
'एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ', वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– 'यो समीकरणलाई टुट्न र भत्कन दिनुहुँदैन।'
उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए। अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए।











