पर्यटक तान्दै सर्लाहीको भरतताल (तस्बिरहरू)
यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू. ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए। तालको गहिराई मध्यभागमा ७० फिटसम्म रहेको जनाइएको छ।
काठमाडाैं, माघ १४ : अहिले सर्लाहीको भरततालले खुबै चर्चा पाएको छ। सर्लाहीको बागमती नगरपालिका–४ मा बनाइएको यो ताल मधेस प्रदेशको महत्वपूर्ण पर्यटकीयस्थलका रूपमा परिचित बन्दै गएको छ।

देशकै सबैभन्दा ठुलो मानवनिर्मित ताल मानिने यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ। हावाको वेगसँगै तालमा छल्किने पानीले बेग्लै प्राकृतिक सौन्दर्य सिर्जना हुने गरेको छ। सोही सौन्दर्यलाई हेरेर र तालमा डुंगा सयर गरेर पर्यटकहरू रोमाञ्चित बन्ने गरेका छन्।

बागमती नगरपालिका बागमती नदीबाट करिब दुई किलोमिटरभित्र रहेको भरत तालमा पर्यटकलाई घुमाउन डुंगाहरू राखिएका हुन्छन्। निश्चित रकम तिरेर पर्यटकहरूले डुंगा चढ्न सक्छन्।

यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू. ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए। तालको गहिराई मध्यभागमा ७० फिटसम्म रहेको जनाइएको छ।
त्यहाँ बेलाबेलामा उड्ने जल चराको बथानले सुन्दरतालाई झनै प्रगाढ बनाइदिने गरेको छ। तालमा हंसराज प्रजातिको हाँस पालिएको र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको नगरपालिकाले बताएको छ।
तालको नजिकै सुमेरू पर्वत बनाउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पनासमेत गरिएको नगर प्रमुख थापाको भनाइ छ। चुरेको काखमा हुनुनले यस तालको महत्वलाई झनै बढाएको छ।
तस्बिरहरू : रत्न श्रेष्ठ/रासस











