पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने
यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए। उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए।
काठमाडाैं, माघ १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन्।
यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए। उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए।
दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उनले बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु ६ लाख ४ सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गरकेा हुन्।
'आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौं, संकलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाका रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ,' पर्यटनमन्त्रीले उल्लेख गरेका छन्।
पर्यटनमन्त्रीको सचिवालयका अनुसार संकलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ। उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ।











