एमाले उम्मेदवार राष्ट्रपति बन्ने पक्का भइसकेको छ : प्रदीप ज्ञवाली
प्रेस चौतारी पाल्पाले आज (शनिबार) तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे।
पाल्पा, माघ १४ : एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीका उम्मेदवार राष्ट्रपतिमा बन्ने पक्का भइसकेको बताएका छन्।
प्रेस चौतारी पाल्पाले आज (शनिबार) तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै माओवादीको सहयोग खोजिरहे पनि बाहिर चर्चामा आएजस्तो सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको उनले बताए।
‘कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नुभएको छैन। पूर्वसहमतिअनुसार एमालेबाटै उम्मेदवार राष्ट्रपति बन्छन्।’
कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको आरोप लगाउँदै उनले सत्ता मोहको पछि लागेर कांग्रेस असल प्रतिपक्ष बन्न नसकेको बताए।
मुलुकमा सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उनको भनाइ थियो।











