राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निष्कर्ष
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिन बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुनुपर्ने निष्कर्ष निकालेको एक पदाधिकारीले बताए।
काठमाडौं, माघ १३ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिन बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुनुपर्ने निष्कर्ष निकालेको एक पदाधिकारीले बताए।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा नेपाली कांग्रेससमेत सामेल भएको बताउँदै राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी सोधेका थिए।
धेरैजसोले कांग्रेसलाई पनि विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आएको बताउँदै सोहीबमोजिम अघि बढ्न प्रचण्डलाई सुझाएको ती पदाधिकारीले बताए।
हालको सत्ता गठबन्धन बन्नुअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको थियो। माओवादी केन्द्र त्यस निर्णयबाट पछि हट्न खोजेको भन्दै ओली सशंकित भइरहेका बेला त्यस्तो निर्णय भएको कुरा बाहिर आएको छ।
शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिए पनि निर्णय भने भइसकेको उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले राष्ट्रिय सहमतिकाे विषयमा एमालेसहित सबै पार्टीसँग छलफल गर्ने बताए।
महराले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ देखि २८ भित्र हुने जानकारी पनि दिए। बैठकमा पार्टी एकताबारे नेपाल समाजवादी पार्टी (नेसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता चलिरहे पनि निष्कर्ष निस्कन बाँकी रहेको बताए।











