सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त
प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
काठमाडाैं, माघ १३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिइन्। उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन्।
मन्त्री शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले पत्रकारद्वयको व्यक्तिको बारेमा चर्चा गरेका थिए।
सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ।











