Kathmandu Press

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता भण्डारीको बहस– रवि लामिछानेमा देशप्रति बफादारिता छैन 

भण्डारीले लामिछानेले  हरेक कुरामा राज्यलाई छल्ने र गलत सूचना दिने गरेकाले  उनलाई कानुनले विशेष छुट दिन नहुने बताए ।
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता भण्डारीको बहस– रवि लामिछानेमा देशप्रति बफादारिता छैन 

काठमाडौं, माघ १३ : वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमा देशप्रति वफादारिता नरहेको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मन्त्री लामिछानेको नागरिकता विवादबारेको बहसमा वरिष्ठ अधिवक्ता भण्डारीले सो कुरा बताएका हुन् ।

उनले लामिछानेले पटकपटक नेपालको राज्यसंयन्त्रलाई ढाँट्दै र छल्दै आएको बताउँदै उनमा राज्यप्रति वफादारिता नभएको बताएका हुन् । ‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिएर गर्नुभएको छ,’ बहसको क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले भने । 

भण्डारीले लामिछानेमा कानुन मिच्ने प्रवृत्ति पहिलैदेखि रहेको समेत बताएका छन् । पारिवारिक भिसामा नेपाल आएर काम गरेको  बताउँदै भण्डारीले भने  ‘त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ।  विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेको छैन।’

भण्डारीले लामिछानेले  हरेक कुरामा राज्यलाई छल्ने र गलत सूचना दिने गरेकाले  उनलाई कानुनले विशेष छुट दिन नहुने बताए । उनले प्रत्येक नागरिकलाई कानुनले समान रुपमा हेर्ने बताउँदै रवि लामिछाने संसद सदस्य बन्न अयोग्य रहेको आदेश जारी हुनुपर्ने तर्क गरे ।  ‘उहाँले पनि संविधान र कानुनको पालना गर्नु पर्छ । कानुनको नजरमा प्रत्येक नागरिक समान हुन्छन् । यो रिट जारी भएन भने कानुनी प्रणालीमा ठूलो समस्या सिर्जना हुन्छ,’ उनले भने । 
 

 

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्