Kathmandu Press

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाई जारी 

बहस र जवाफी बहस सकिएलगत्तै आजै  संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ ।  
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाई जारी 

काठमाडौं, माघ १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । 

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।  

आजको सुनुवाईमा  गृहमन्त्री लामिछानेका  कानून व्यवसायीहरुले बाँकी बहस गरिरहेका छन् । उनीहरूकाे बहसपछि  रिट निवेदकहरुले जवाफी बहस गर्नेछन् । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो विवादको आज अन्तिम सुनुवाइ हो । बहस र जवाफी बहस सकिएलगत्तै आजै  संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ ।  

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न लगाएको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने बताइएको छ ।

अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भइसकेका बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । 
 

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्