किन भारत लगिँदै थियो १०१ राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र?
उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुईजनालाई पक्राउसमेत गरेको छ।
काठमाडाैं, माघ १३ : नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ।
उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुईजनालाई पक्राउसमेत गरेको छ।
उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेकी छिन्।
पक्राउपछि उनीहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
उनीहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुस्थित एक्सरे गर्ने क्रममा लगेजमा शंकास्पद वस्तु देखिएको थियो।
जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो। उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्न लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए।
सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लिखित विवरण भएको राहदानीहरु र उनीहरुका साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ।











