Kathmandu Press

निजगढ-भरतपुर रेलमार्गको डीपीआर सम्झौता

निजगढ, पुस २० : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको....

निजगढ-भरतपुर रेलमार्गको डीपीआर सम्झौता

निजगढ, पुस २० : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच सम्झौता भएको हो।

पन्ध्र महिनाभित्रमा डीपीआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनले डीपीआर सुरू गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको बर्ता।

परामर्शदाताले आगामी वैशाखसम्ममा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ। परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारका लागि १२ लाख ८५ हजार चार सय अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेका थिए।

विभागले २०७६ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनः डीपीआर तयार गर्न विश्वव्यापी आशय माग गरेको  थियो। मेची–महाकाली रेलमार्गअन्तर्गतको निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको डिपिआर निर्माण गर्न १३ परामर्शदाताले आवेदन दिएका थिए।

विभागको मूल्याङ्कन समितिले कार्यक्षमताका आधारमा ६ परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो। २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो।

यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते  खोलिएको थियो। परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको नौ महिनापछि डीपीआरका लागि सम्झौता भएको छ।

रेल विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहे पनि कुनै पनि आयोजनाका लागि ठेक्का लगाउन र सम्झौता गर्न मन्त्रालयको सहमति आवश्यकता नपर्ने विभागले जनाएको छ। सार्वजनिक खरीद नियमावली (नवौँ संशोधन) २०७६ अनुसार विश्वव्यापी बोलपत्र निकालिएको १२० दिन अर्थात् चार महिनाभित्रमा ठेक्का सम्झौता हुनुपर्नेछ। तर, १५ महिनापछि मात्र सम्झौता गरिएको विभागले जनाएको छ।

विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–हेटौँडा–भरतपुर सडकखण्ड रेलमार्ग निर्माणको डीपीआरका लागि योग्य देखिएको हो। उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अङ्क प्राप्त गरेको विभागले जनाएको छ।

आइसिटी–युकसेल जेभीले प्राविधिक क्षमताका आधारमा ८६.४९ प्रतिशत अङ्क प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि २८ लाख ८५ हजार ६० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड आठ लाख पाँच हजार एक सय १० प्रस्ताव गरेको थियो।

राइट्स–बिडीए जेभीले प्राविधिक क्षमताका आधारमा ८४.३३ प्रतिशत अङ्क प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि ११ लाख १४ हजार आठ सय अमेरिकी डलर र नेपाली साझेदारका लागि रु १४ करोड ३३ लाख ९९ हजार सात सय प्रस्ताव गरेको  विभागले जनाएको छ।

प्रकाशित मिति: २३:३७ बजे, शनिबार, पुस १९, २०७६