प्रेमप्रसाद आत्मदाह प्रकरण : छानबिन गर्न गृहले बनायो समिति
गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
काठमाडाैं, माघ १२ : गत मंगलबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यको विषयमा छानविन गर्न गृहमन्त्रलायले समिति गठन गरेको छ ।
आत्मदाह अघि प्रेमप्रसादले फेसबुकमा लामो स्टाटस लेख्दै उठाएका विषयमा छानबिन गर्न गृहले ६ सदस्यीय समिति गठन गरेको हो। गृहले समितिको संयोजकमा सहसचिव नारायणप्रसाद रिसाललाई तोकेको छ।
अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको छ ।
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए ।











