बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गरेर अघि बढ्ने विषयमा छलफल भयाे : माओवादी नेता पाैडेल
नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाे र राष्ट्रपति पदमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने भनी बैठकमा छलफलमा भएको उनकाे भनाइ थियाे।
काठमाडौं, माघ १२ : माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टी (नेसपा) सँग छिट्टै एकता हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बिहीबार) स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह टुंगो लागनेबित्तिकै एकताले मूर्तरूप लिनेृ बताए।
नेकपा एकीकृत समाजवादीसँग भने एकता प्रक्रिया अगाडि बढिनसकेको पौडेलको भनाइ थियो।
माओवादी केन्द्र कुनै पार्टीलाई चिढ्याएर राष्ट्रपति चुन्ने पक्षमा नरहेको पनि उनले बताए। उनले भारतका १९औं राष्ट्रपति अब्दुल कलामको उदाहरण दिँदै राष्ट्रपति चयनका विषयमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने विषय छलफलमा उठेकाे बताए।
नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाे र राष्ट्रपति पदमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने भनी बैठकमा छलफल भएको उनकाे भनाइ थियाे।
उनले राष्ट्रपति लुछाचुँडी गर्ने पद नभएको बताउँदै उनले भने, ‘राष्ट्रपति सम्मानित पद हो। राष्ट्रपति संविधानको संरक्षक तथा साझा अभिभावक हाे। यसमा अनावश्यक बहस नगरी सबैले स्वीकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ।’
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो राजनीतिक परिस्थिति र सरकारको कामको बारेमा जानकारी गराएको उनकाे भनाइ थियाे।
बैठकमा प्रचण्डको प्रतिवेदन, पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रचण्डलाई बधाई, नेता वर्षमान पुनको स्वास्थ्य लाभको कामना, यति बिमान दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जी अर्पण गरिएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। बैठकमा सरकार बन्नुपूर्वको गठबन्धनको स्थीती, नयाँ गठबन्धनको अवस्था र राजनीतिक घटना क्रममा बारेमा प्रचण्डले बिफ्रिङ गरेको र शुक्रबार एजेण्डागत रुपमा छलफल हुने प्रवक्ता महराले बताए।
त्यस्तै बैठकपछि सचिव देवेन्द्र पौडेलले सबैमा राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न कोशिस हुने बताए। संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्नेमा माओवादीको जोड रहेको उनले बताए।
माओवादीको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ।











