Kathmandu Press

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताइन्।
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

काठमाडाैं, माघ १२ : राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिन विभागमा सेवाग्राहीको हुने भिड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।

विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन्। उनले भनिन्, ‘सेवाग्राहीको घन्टौं लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ। 

कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ। राहदानी विभागमा अबका दुईतीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ।

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भिड व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो। राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ।

अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताए। 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्