Kathmandu Press

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं, माघ ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन।

एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गरे।

'हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो,' उनले भने, 'हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।' एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उहाँले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए।

उनले भने, 'कहिलेकहिले सत्य कमजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ ।' अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, सङ्गठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राखे। उनले पार्टीका कसैले भ्रष्टाचार गरेको खण्डमा सजाय भोग्नुपर्ने र त्यसमा पार्टीले केही गर्न नसक्ने बताए। कहीँकहीँ पार्टीका केहीका अनुशासनका उल्लङ्घनका घटना रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती व्यक्तिगत घटना भएको र व्यक्तिगत घटनाका जिम्मेवारी अनुशासन उल्लङ्घनकर्ता हुने भनाइ राखे।

कार्यक्रममा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ता एमालेको नीति, विचार र सिद्धान्तमा प्रतिबद्ध हुनुपर्ने बताए। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेललगायतले प्रशिक्षण दिनेछन।

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्