Kathmandu Press

यती दुर्घटनाका ६ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

अस्पतालका फरेन्सिकविद डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए। 
यती दुर्घटनाका ६ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडाैं, माघ ११ : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ।

काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ। 

अस्पतालका फरेन्सिकविद डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए। 

'६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,' उनले भने।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ। उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। 

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्ने छ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो। 

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्