Kathmandu Press

‘रातो स्टिकर’ लत्याउँदै कामचलाउ मर्मत गरेर एभरेष्ट होटल संचालनमा

काठमाडौं, पुस १९ : ‘बस्न लायक’ नभएको भन्दै पर्यटन विभागले रातो स्टिकर टाँसेको बानेश्वरको एभरेष्ट होटलले काम चलाउ मर्मत गरेर सेवा सुरु गरेक....

‘रातो स्टिकर’ लत्याउँदै कामचलाउ मर्मत गरेर एभरेष्ट होटल संचालनमा

काठमाडौं, पुस १९ : ‘बस्न लायक’ नभएको भन्दै पर्यटन विभागले रातो स्टिकर टाँसेको बानेश्वरको एभरेष्ट होटलले काम चलाउ मर्मत गरेर सेवा सुरु गरेको छ।

२०७२ बैशाख १२ र २९ गतेको भूकम्पले भवन पूर्णरुपमा सञ्चालन गर्न नमिल्ने र मजदुर संगठनको आन्दोलनका कारण पाँच तारे उक्त होटल चार वर्ष यता बन्द थियो।सामान्य रेक्टोफिटिङ गरेर होटल पुनः सञ्चालनमा आएपनि एभरेष्टले पर्यटन विभागसँग पुनःसञ्चालनको अनुमति नै नलिई सेवा सुरु गरेको छ।

पर्यटन विभागको अनुमति नलिई सेवा सुरु गरेको एभरेष्ट होटलमा भ्रमण वर्ष उद्घाटनको अवसरमा पर्यटन मन्त्री योगेश भट्राईले पाहुनाका रुपमा बोलाएका भारत लगायत पाँच देशका पर्यटन मन्त्रीलाई सरकारी खर्चमा सोही होटलमा राखिएको थियो।

Hardik ivf

‘होटल व्यवस्थापकले भ्रमण वर्षमा होटल पुनः सञ्चालनको तयारी गरिएको भन्दै विभागमा विदेशी मुद्रा कारोबारको अनुमतिका लागि निवेदन दिएको छ, पुर्नसञ्चालनको स्वीकृति लिएको छैन’ पर्यटन विभागका महानिर्देशक ढुण्डीराज घिमिरेले काठमाडौं प्रेससँग भने, ‘हामीले मौखिक रुपमा सबै प्रक्रिया पुर्‍याएर मात्रै होटल सञ्चालन गर्न मौखिक निर्देशन गरेका छौँ।’

होटल सञ्चालकले भने अहिले पूर्ण रुपमा सेवा सुरु भइनसकेको भन्दै अनुमति लिने प्रक्रिया अघि बढेको दाबी गरेका छन्। ‘सरकारी निकायसँग अनुमति लिने प्रक्रिया अघि बढाएका छाैं’ ऐभरेष्ट होटलका मानव संशाधन विभाग प्रमुख नारायण पौडेलले भने।
 
भूकम्पले क्षति पुर्‍याएपछि बन्द भएको उक्त होटलले पुनर्निर्माण गर्दा अपनाउनु पर्ने केही अत्यावश्यक सावधानीको पनि बेवास्ता गरेको पर्यटन विभागको दाबी छ। ‘सञ्चालनमा आए पनि होटलले वातावरण प्रभाव मूल्यांकनदेखि कुनै पनि प्रक्रिया पूरा गरेको छैन’ महानिर्देशक घिमिरेले भने।
 
त्यसो त एभरेष्ट होटलले पुर्नसंचालनका लागि पाँच तारे होटलको रेटिङ पनि लिएको छैन। होटलको वेवसाइटमा पाँच तारे होटल लेखेपनि त्यो अनुमति नलिएको विभागले जनाएको छ।  ‘यसअघि लिएको पाँच तारे होलटको रेटिङ २०७५ सालबाट सकिएको छ’ विभागका अर्को एक अधिकारीले भने, ‘विभागले प्रत्येक ५–५ वर्षे अवधि रहने गरी  दिएको इजाजत सकिएकाले एभरेष्ट अहिले रेटिङविनै संचालनमा छ।’

होटलका व्यवस्थापक नारायण पौडेलका अनुसार लवी र कोठा पुनर्निर्माणको काम सकिएपछि आंशिक रुपमा सञ्चालन गरिएको हो। १६० कोठा भएको होटलको पुनर्निर्माणको काम जारी छ।

होटल बन्द भएपछि कार्यरत मजदुरहरुले सेवा सुविधा निरन्तरताको माग गर्दै श्रम अदालत गएका थिए। अदालतवाट उनीहरुले मुद्दा जितेपछि गएको फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएको थियो। सहमतिअनुसार व्यवस्थापनले होटल बन्द भएदेखिको तलब भत्ता उपलब्ध गराउने, तलबमा ५ प्रतिशत वृद्धि लगायतका कुरामा सहमति भएपछि होटल पुनःसञ्चालन आएको हो।

३२ रोपनी क्षेत्रफलमा फैलिएको होटलले २०२७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएको थियो।

शेयर विवादपछि भूकम्पको बहानामा बन्द 

वैैशाख १२ को महाभूकम्प एभरेष्ट होटल बन्द हुने मुख्य कारण थिएन। होटलको मापदण्ड पूरा गरेर बढीमा एक वर्षमै पुनर्निर्माण गरेर सञ्चालन गर्न सकिन्थ्यो। तर होटलको शेयर हिस्साका विषयमा चर्को विवाद भएपछि होटल बन्द भएको हो।

होटलका मुख्य लगानीकर्ता भारतीय नागरिक मकबुल अहमद लारी थिए। उनले होटल सञ्चालन गर्न आफ्नै भतिजा–बुहारीलाई शेयर दिएर विजनेश पार्टनर बनाएका थिए। मुख्य लगानीकर्ता मकबुल लारीको निधनपछि होटलको शेयरका विषयमा लारी परिवारमा विवाद बढेको थियो।

बाबुको मृत्युपछि छोरा मुजब्फर लारी भारतबाट नेपाल आएर होटलको शेयर दिन आग्रह गरेका थिए। बाबुको मृत्यु अघिनै दाजुभाउजुले होटलको सम्पूर्ण शेयर जानकारीबिनै हडपेको भन्दै मजुब्फर अदालत गएका थिए।

किर्ते गरेर आफ्नो बुवाको नामको शेयर आफ्नो नाममा पारेको दाबीसहित जिल्ला अदालत पुगेका मुजब्फरको विपक्षमा अदालतले फैसला गरेपछि उनी पुनरावेदन हँुदै सर्वोच्च अदालतसम्म पुगे। सर्वाेच्चले समेत उनको विपक्षमा फैसला सुनाएपछि होटलको सम्पूर्ण शेयर दाजुभाउजुको नाममा आयो।

होटलको शेयर आफ्नो नाममा आएको केही दिनपछि मुस्कर अहमद (दाजु) लागु औषध मुद्दामा पक्राउ परेका थिए। 
 

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, पुस १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्