राज्यका संयन्त्रलाई थिलोथिलो पारेकै कारण नजिता आउन ढिलाइ : रवि लामिछाने
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उनले मूलतः क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषयमा आफ्ना धारणा राखे। उनले यस्ता विषयमा नतिजा आउन समय लाग्ने पनि बताए।
काठमाडौं, माघ १० : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेकै कारण नजिता आउन ढिलाइ भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको र काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएका कारण नजिता आउन ढिलाई भएको बताएका हुन्।
उनले आफुले गृहमा जिम्मेवारी सम्हालेपछि सुधारका कामहरु सुरु गरिसकेकाले कामको र परिणामको माध्यमबाट सवै प्रश्नहरूको जवाफ दिने बताए।
उनले प्रणालीलाई बलियो बनाउन सवैले साथ दिए नागरिकले छिटै सुशासनको अनुभूति गर्न सक्ने धारणा राखे।
उनले फरार सांसदका बारेमा आफ्नो मन्त्रालय संवेदनशील भएर लागेको बताए। हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी संसद बैठकमा पनि सहभागी भइरहेका छन्। फरार सांसद संसदमा आउँदा पनि गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेका बेला उनले त्यस्तो बताएका हुन्।
उनले मूलतः क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषयमा आफ्ना धारणा राखे। उनले यस्ता विषयमा नतिजा आउन समय लाग्ने पनि बताए।
‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा, गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ,’ उनले भने, ‘नतिजा आउन समय लाग्ने भएको छ। यहाँ ज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं।’
मन्त्री लामिछानेले संसद्को बहसले नयाँ पार्टी उत्साहित नभएको बताएका छन्। ‘नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीजस्ता राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन। बहस विषयकेन्द्रित हुन जरुरी छ। गरिमामय संसदमा उपस्थित हुने जाँगर कम हुन्छ।’ उनले हिजोका ‘गन्थन’मा आफूहरूलाई चासो नभएको बताए।
उनले आफू गृह मन्त्रालयको प्रणाली सुधारतर्फ लागिएको पनि जानकारी पनि दिए। उनले मिडियामा आउने अनेक विषयमा ‘कमेन्ट’ गर्ने पक्षमा आफू नरहेको पनि प्रस्ट पारे।











