विधिको शासनलाई स्थापित गर्न सभामुखको महत्त्वपूर्ण हुन्छ : कांग्रेस नेता पौडेल
‘सभामुखको जिम्मेवारीमा रहँदाखेरि पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लग्ने कुरा धेरै नै अफ्ठ्यारो छ । कहिलेकाहीँ अतिरञ्जित रूपमा कुराहरू आउँछन्, त्यस्तो बेला पनि सन्तुलन कायम गर्न कुशलता देखाउनुपर्ने हुन्छ।’
काठमाडौं, माघ १० : कांग्रेस नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेलले विधिको शासनलाई स्थापित गर्न सभामुखको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गदै पौडेलले सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण हुने र अन्य भूमिकाभन्दा भिन्न रहेको बताए।
‘सभामुखको जिम्मेवारीमा रहँदाखेरि पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लग्ने कुरा धेरै नै अफ्ठ्यारो छ । कहिलेकाहीँ अतिरञ्जित रूपमा कुराहरू आउँछन्, त्यस्तो बेला पनि सन्तुलन कायम गर्न कुशलता देखाउनुपर्ने हुन्छ,’ उनले भने ।
पौडेलले सभामुखको हैसियतमा आफूले पनि अनुभव प्राप्त गरेको बताउँदै सदनमा पक्ष–विपक्षको सन्तुलन मिलाएर लैजानुहोला सभामुखलाई अनुरोध गरे।
विधिको शासनलाई स्थापित गर्नका लागि सभामुखले दृढ भएर निर्णय लिन सक्नुपर्ने पौडेलले बताए । उनले भने, ‘विधिको शासन नै लोकतन्त्र हो, त्यसकारण विधिको शासनलाई सबैले मान्नुपर्छ । पूर्वाग्रह राखेर काम गर्न मिल्दैन, सभामुखले त्यस्तो विषयमा जोगिएर काम गर्नुहोला।’
आफूले संसदीय अभ्यासको सुरूवातकै घडीमा सभामुखको भूमिका निभाउनुपर्दा कतिपय अफ्ठ्यारा र आरोपहरू झेल्नुपरेको उनले बताए। उनले संविधानअनुसार संसद् विघटनको निर्णय अदालतले उल्ट्याइदिँदा संसद्मा अदालतका प्रधानन्यायधीशमाथि नै अविश्वासको प्रस्ताव आएको अनुभव सुनाए।
पौडेलले त्यसबेलाको जस्तै अहिले पनि सभामुख घिमिरेले पक्षविपक्षका कुरा नसुनी संविधान र विधिको बाटोमा दृढ भएर अघि बढ्न सक्नुपर्ने मुलुकको परिस्थिति रहेको बताए।











