अदुवाको बिउ खरिदमा २ करोड भ्रष्टाचार, गल्याङका पूर्वमेयर अधिकारी अख्तियारको फन्दामा
पूर्वमेयर अधिकारीमाथि महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बिउ किनेको आरोप छ ।
काठमाडौं, माघ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भुपराज अधिकारी सहित तत्कालीन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पूर्वमेयर अधिकारीले सेटिङ मिलाएर अदुवाको बिउ खरिदमा २ करोड रुपैयाँ अनियमितता गरेको भन्दै उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पूर्वमेयर अधिकारीमाथि महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बिउ किनेको आरोप छ । तत्कालीन समयमा नगरपालिकाले खरिद गरेको अदुवाको बिउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण विना नै अस्वाभाविक रुपमा दररेट थपेर खरिद गरी नगरपालिकालाई १३ लाख थप व्ययभार पारेको र आपूर्तिकर्तालाई गैरकानुनी लाभ पुर्याएको अख्तियारको ठहर छ ।
नगरपालिकाले स्पेसिफिकेशनमा उल्लिखित कागजातको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिउ खरिदका लागि पेश भएका आदेशमा तत्कालीन नगरप्रमुखले पटकपटक गरी २ करोड १४ लाख भूक्तानी दिएको अख्तियारले जनाएको छ ।
गल्याङ नगरपालिकाले काठमाडौंको तीनकुनेस्थित स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बिउ खरिद गरेको थियो । उसलाई नगरपालिकाले अग्रिम करकट्टी गरी २ करोड १० लाख ७० हजार ४९९ भुक्तानी गरेको थियो । स्पुतक ट्रेडर्सलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगरप्रमुख अधिकारीले अस्वाभाविक रुपमा दररेट थप गरी नगरपालिकालाई नोक्सान पु¥याएको अख्तियारको दाबी छ । १३ लाख नोक्सानी भएको मुद्दामा भने अधिकारीलाई मात्रै विपक्षी बनाइएको छ ।
बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा भने पूर्वमेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ । अख्तियारले बिउ आपूर्ति गर्ने स्पुतक ट्रेडर्स प्रालिका सञ्चालक शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।











