म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
म्याग्दी, माघ ९ : म्याग्दीको मंगला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी निरीक्षक राजन ढकालले मंगला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मंगला-२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
मंगला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।
ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।











