कांग्रेसको निर्णय : राष्ट्रपतिमा उम्मेदवारी दिने, समर्थन जुटाउन अन्य दलसँग छलफल गर्ने
कांग्रेसले माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ । ऐन, कानुनमा समस्या देखिए छिटो समाधान गर्न पनि कांग्रेसले सरकारलाई सुझाएको छ ।
काठमाडौं, माघ ९ : नेपाली कांग्रेसले फागुनमा हुने राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभापति शेर बहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न अन्य दलहरुसँग पनि आग्रह गर्ने बताए । त्यसका लागि विपक्षी र सरकार पक्ष दलहरुसँग छलफल गर्ने निर्णय भएको उनले बताए । ‘राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले अन्य दलको सहयोग लिएर प्रस्तुत हुने हाम्रो दृष्टिकोण रहेको छ । त्यसका लागि संसदमा रहेका अन्य दलसँग पनि छलफल प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छौं,’ उनले भने ।
बैठकले तोकिएकै समयमा राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा समेत जोड दिएको छ । विभिन्न बहानाबाजीमा निर्वाचन सार्न नहुने निष्कर्ष निकाल्दै ऐन, कानुनमा समस्या देखिए तत्काल समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ र कुनैपनि कारणबाट यसलाइ पछि सार्ने काम हुनुहुन्न । समयमै सम्पन्न गर्नुपर्छ र कानुमा समस्या छन् भने समयमै समाधान गरी निर्वाचन प्रक्रियालाई अगाडि बढाउने काममा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौं,’ प्रवक्ता महतले भने ।
उनले माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा कांग्रेसले जोड दिएको जानकारी दिए । ‘ऐनमा एक महिनाअगाडि र पाँच वर्षको अवधि भन्ने व्यवस्था छ । यो परिप्रेक्ष्यमा त्यहाँ भएका कन्ट्राडिक्सनलाई छिटो टुंग्याएर समयमै निर्वाचन गर्ने जिम्मेवारी सरकारको छ भने निर्वाचन गर्ने काम निर्वाचन आयोगको छ । यसलाई आलटाल गरेर पछि धकेल्ने काम नगरियोस्,’ उनले भने ।











