‘संखुवासभाका सफल व्यक्तित्वहरू’ पुस्तक सार्वजनिक

काठमाडौं, माघ ८ : विभिन्न विधा र क्षेत्रमा उच्च तहमा पुग्न सफल संखुवासभाका ३१ जना व्यक्तिको अनुभव, अनुभूति र दृष्टिकोण समेटिएको ‘संखुवासभाका सफल व्यक्तित्वहरू’ नामक पुस्तक सार्वजनिक भएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यमा राजधानीमा पुस्तकको लोकार्पण गरिएको हो । बागमती प्रदेश प्रमुख शर्माले नेपालको विकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्ने व्यक्तिहरूको छुट्टाछुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटिएकाले पुस्तक पठनीय र ऐतिहासिक रहेको बताए । पुस्तकमा समेटिएका व्यक्तिहरू नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय छविसमेत बनाउन सफल व्यक्तिहरू रहेको भन्दै उहाँहरूको अनुभव र दृष्टिकोण नयाँ पुस्ताका लागि पनि मार्गदर्शक बन्ने बताए ।
पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा नेपाल सरकारका ऊर्जा सचिव दिनेश घिमिरे, अमेरिकाका लागि नेपालका पूर्वराजदूत तथा विकासविद् डा. अर्जुन कार्की, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, संस्कृतिविद् प्राध्यापक रमेश ढुंगेलको सफलताको कथा समेटिएको छ ।
त्यसैगरी सुशासनविज्ञ डा. हीरामणि घिमिरे, पूर्वसचिव शारदाप्रसाद त्रिताल, मानव अधिकारकर्मी कृष्ण पहाडी, नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सञ्चालक निरीक्षक क्याप्टेन डिआर निरौला, सांसद दिपक खड्का, पूर्वसांसद राजेन्द्र गौतम, प्रदेशसभा सदस्य राजेन्द्र कार्की, उद्योगपति कृष्णगोपाल श्रेष्ठ, कीर्तिमानी आरोही मिङ्मा शेर्पा, छिरिङ पान्दे भोटे, थानेश्वर गुरागाईंको अनुभव र अनुभूति पुस्तकमा समेटिएको छ ।
पुस्तकमा युवा व्यवसायी सुजनकुमार श्रेष्ठ, इप्पानका पूर्वअध्यक्ष शैलन्द्र गुरागाईं, प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी, बागमती सफाई अभियन्ता डा. राजु अधिकारी, खुला दिशामुक्त अभियानका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठ, शिक्षाविद् तथा उद्योगपति तेजबहादुर ढकाल, जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, पूर्वसचिव हेमराज पौडेल, कर्मचारी सञ्चयकोषका पूर्वप्रमुख प्रशासक प्रमुख तुलसी गौतम, इञ्जिनियरिङ अध्ययन संस्थानको पूर्व सहायक डिन प्राध्यापक तेजराज थापा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र भण्डारी, सर्वोच्चकै बहालवाला माननीय न्यायाधीश हरि फुयाँल, हेल्पिङ हेण्ड्सका प्रमुख डा. गुप्तबहादुर श्रेष्ठ, प्रशासक अनिता निरौलाका अनुभव र अनुभूति रहेका छन् ।
संखुवासभाका सांसद एवं पूर्वराज्यमन्त्री दिपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तिहरूले नेपालको समग्र विकास र प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । भीमबहादुर कट्टेल सम्पादकमण्डलको संयोजक रहेको पुस्तकको सम्पादन मनिराज गुरुङको रहेको छ।