Kathmandu Press

जनकपुरका २ युवकको अपहरणपछि भारतको सितामढीमा हत्या 

जनकपुरका २ युवकको अपहरणपछि भारतको सितामढीमा हत्या 

काठमाडौं, माघ ८ : धनुषाका दुई युवकको अपहरणपछि हत्या भएको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८  का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी)दिपक रायका अनुसार अपहरणमा परेका दुई युवकको शव भारत विहार राज्यको सितामढी जिल्लामा पर्ने बेला परिहारमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो । 

उनीहरुको शव आफन्तले पहिचान गरिसकेको पनि डीएसपी रायले जानकारी दिए । दुई साताअघि दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए । उनीहरु एकाएक बेपत्ता भएपछि पुस २७ गते अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको थियो । 

तर, साहका परिवारले त्यति ठूलो रकम जुटाउन नसक्ने बताएपछि २० लाख रुपैयाँमा डिल फाइनल भएको प्रहरी बताउँछ । साहका परिवारले २० लाख रुपैयाँ जोहो गरेपछि प्रहरीलाई जानकारी गराएको र प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई नियन्त्रणमा लिने योजनाबनाएको थियो । तर अपहरणकारी एकाएक सम्पर्कविहीन भएका थिए । 

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्