Kathmandu Press

अवैध संरचना हटाउन धरानमा पनि डोजर चल्यो, स्थानीयले गरे ढुंगामुढा  

अवैध संरचना हटाउन धरानमा पनि डोजर चल्यो, स्थानीयले गरे ढुंगामुढा  

काठमाडौं, माघ ८ : धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन डोजर  परिचालन गरेको छ । आइतबार धरान उपमहानगरपालिका–५ स्थित देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर भत्काउन उपमहानगरपालिकाले डोजर चलाएको हो । 

डोजर चलाएपछि स्थानीय बासिन्दाले डोजरमाथि ढुंगामुढा गरेको छ । स्थानीयले ढुंगामुढा गरेपछि डोजरको सिसा फुटेको छ । स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा  केही व्यक्ति सामान्य घाइते समेत भएको बताइएको छ । 

स्थानीय मुना चौधरी लिम्बूले सार्वजनिक जग्गा  अतिक्रमण गरी घर बनाएको भन्दै यसअघि पनि धरान उपमहानगरपालिकाले उक्त घर भत्काउने प्रयास गरेको थियो । जग्गा खाली गर्न पटकपटक ताकेता गरि पत्राचार भएपनि अटेर गरेपछि उपमहानगरले डोजर परिचालन गरि भत्काउन लागेको थियो । 

त्यतिबेला स्थानीयहरुले चर्को विरोध गरेपछि उपमहानगरको डोजर घर नभत्काई फर्केको थियो । घर भत्काउन खोजेपछि मुना चौधरी लिम्बूले सुनसरी जिल्ला अदालतमा रिट समेत दायर गरेकी थिइन् । तर अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । त्यसपछि आइतबार (आज) ठूलो संख्यामा सुरक्षाकर्मीसहित उपमहानगरले डोजर चलाएको हो । 

धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, माघ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्