प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भयो : शेखर कोइराला

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनु गल्ती भएको बताएका छन् ।
आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूपक्षका नेताहरुको बैठकमा डा. कोइरालाले कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेमा सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन् ।
उनले पार्टीको बैठकमा आफूले विश्वासको मत दिन नहुने बताएपनि बहुमतको बलमा विश्वासको मत दिने निर्णय गर्दा विश्वासको मत दिन बाध्य भएको बताएका हुन् । ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन,’ उनले भने, ‘बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो। विश्वासको मत दिन हुँदैन थियो।’
संस्थापन इतरको बैठकमा सत्ता गठबन्धन फुट्नुको अन्तर्यका बारेमा पनि छलफल गरेको थियो । अन्तिम समयमा कांग्रेसले माओवादीका अध्यक्ष प्रचण्डलाई ढोका बन्द गर्नुका कारण त्यसको परिणामस्वरुप फुटेको गठबन्धनका विषयमा अन्य नेताहरुले आ–आफ्नै धारणा राखेका थिए । कांग्रेसको १५ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन इतर पक्षले यी र यस्ता कुराहरुलाई उठाउने बताइएको छ ।











