उपसभामुखमा निर्वाचित इन्दिरा रानामगर को हुन्?
लामो समयदेखि बालबालिकाको क्षेत्रमा योगदान दिएर राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएकी उनी २७ वर्षयता निरन्तर सामाजिक क्षेत्रमा आबद्ध छन्। उनी बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक पनि हुन्।
काठमाडाैं, माघ ७ : प्रतिनिधसभाको उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएकी छन्। प्रतिनिधसभाको शनिबार बसेको बैठकले उनलाई उपसभामुखमा निर्वाचित गरेको हो।
लामो समय सामाजिक क्षेत्रमा क्रियाशील इन्दिरा रानामगरको राजनीतिक यात्रा सुरु भएको धेरै भएको छैन। गत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएर राजनीतिमा होमिएकी हुन्। ५२ वर्षीया उनी सामाजिक सेवामा सक्रिय उनी रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएकाे केही समयपिछ साेही पार्टीमा राजनीतिमा लागेकी हुन्। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो।
उनी २०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी थिइन्। उनका बुवाआमा उदयपुरबाट झापा बसाइ सरेका थिए। ६ सन्तानमध्ये सबैभन्दा कान्छी उनले १० वर्षसम्म विद्यालयको अनुहार देख्न पाइनन्। ढिला पढ्न सुरु गरे पनि स्नातकसम्मको पढाइ पूरा गरेकी छन्। धुलोमा अक्षर कोरेर प्रारम्भिक शिक्षा हासिल गरेकी इन्दिरा अहिले धेरै बालबालिकाको भविष्य उज्यालो बनाइरहेकी छन्।
सानैदेखि संघर्ष गर्दै अघि बढिरहेकी उनले सामाजिक क्षेत्रमा ठुलो प्रसिद्धि कमाएकी छन्। उनी राजनीतिमा नयाँ अनुहार भए पनि सिंगो नेपालले गौरव गर्न लायक व्यक्ति हुन्। काठमाडौं आएर एक विद्यालयमा शिक्षिकाका रूपमा समेत काम गरेकी उनी एक छोरीकी आमा भए पनि हजारौं अनाथ बालबालिकाकी आमाका रूपमा परिचित छिन्।
लामो समयदेखि बालबालिकाको क्षेत्रमा योगदान दिएर राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएकी उनी २७ वर्षयता निरन्तर सामाजिक क्षेत्रमा आबद्ध छन्। उनी बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक पनि हुन्। उनले अभिभावकविहीन हजारौं बालबालिकालाई उद्धार गरेकी छन्। उनको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ। यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ।
उनी दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छन्। विश्वभरका समाजेवीमध्ये उत्कृष्ट सेवा प्रदान गर्ने एकजनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष तीन स्थानमा पर्न सफल उनले अन्य थुप्रै अवार्ड प्राप्त गरेकी छन्।
उनले जेलबाट रिहा भएका कैदी र तिनका परिवारका सदस्यहरूलाई मद्दत गर्न बन्दी सहायता नेपालको स्थापना गरेर सेवा प्रदान गरिरहेकी छन्। यस कामको कदर गरेर उनलाई बिबिसीले सन् २०१७ मा संसारका १०० महिलाको सूचीमा समेटेकाृ थियोछ। बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी इन्दिरा एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाका रूपमा समेत चिनिन्छिन्।
उनको संस्थाले सुरु गरेको ‘भोकका लागि खाद्य कार्यक्रम’ निकै प्रभावकारी भएको थियो। महामारीको समयमा घरबारविहीन र जोखिममा परेका मानिसहरूलाई भोकबाट बचाउन निःस्वार्थ समर्पण गरेको भन्दै २०२२ को प्रभाव पुरस्कारबाट उनी सम्मानित भएकी छन्। सन् २००५ मा प्रतिष्ठित अशोक फेलोसिप अवार्डबाट सम्मानित इन्दिराले सन् २०१० मा पनि उनलाई एसियाई–२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्रदान गरियो। उनले सन् २०१४ मा ‘होनरी अवार्ड’ समेत प्रदान गरिएको थियो।
उनी सन् २०१४ को विश्व बाल पुरस्कारका लागि मनोनयनमा परेका तीनमध्ये उनी एक थिइन्। उनले स्विडेनकी रानी सिल्भियाले प्रदान गरेको विश्व बाल सम्मान पुरस्कार पनि जितेकी छन्। उनले युवा एसिया पब्लिक सर्भिस अवार्ड र अशोक फेलोसिप अवार्डसहित अरू धेरै उल्लेखनीय पुरस्कार पाइसकेकी छन्।
समाजसेवाको क्षेत्रमा गरेको योगदानकै कारण लीलाराम-कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार २०१४, नईखरु गौरव पुरस्कार २०१३, उत्कृष्ट समाजसेवी पुरस्कार २०१३, नवतालश संघर्षरत महिला विकास पुरस्कार २०१३, नवतालश संघर्षकारी महिला पुरस्कार २०१३, सामाजिक विकास पुरस्कार २०१३ लगायतका विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी छन्। उनी शान्तिदूतका रूपमा विश्वशान्ति महासंघबाट सम्मानित पनि भएकी छन्।











