‘सभामुख र उपसभामुख सीधा नजर लगाउनुपर्छ, पदीय मर्यादाबाट विचलित हुनुहुँदैन’
शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको उल्लेख गर्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।
काठमाडौं, माघ ७ : एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखलाई पदीय मर्यादाबाट विचलित नभई काम गर्न अनुरोध गरेका छन्।
शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको उल्लेख गर्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।
उनले सभामुखजस्तो गरिमामय पदमा बस्नेले दल फुटाउने भूमिका खेल्नुको सट्टा फुट्न लागेको दलललाई बचाउनुपर्ने धारणा राखे।
‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ। तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन। फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन,’ उनले भने, ‘भोलि पनि त्यस्तो दिन आउन सक्छ, सभामुखज्यू, तपाई कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ।’
विगतलाई फर्केर हेर्दा एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरू कसैले भूमिका नखेलेको बताउँदै सभामुखजस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो, सभामुख र उपसभामुख सिंगो हलको रेफ्री भएको बताए।
‘सभामुख र उपसभामुख दायाँ र बायाँको बीचको आसन भएकाले दायाँतिर वा बायाँतिर हेरेर बडी ल्यांग्वेज नदिनुस्। सिधा नजर लगाउनुस्। दुई वटा आँखा दुईतिर लगाउनुस्,’ उनले भने।
सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे। उनी इन्दिराको उम्मेदवारीका समर्थक पनि हुन्।











