सिके राउतले मौन धारण गराउँदा नउठ्दैमा मधेस आन्दोलनका सहिदको सम्मान नगरेको भन्न मिल्दैन : लिङ्देन
उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने पनि स्पष्ट पारे।
काठमाडौं, माघ ७ : उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माघ ५ गते सांसद सिके राउतले मौन धारण गराउँदा कुर्सीबाट नउठ्दैमा मधेस आन्दोलनका सहिदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने स्पष्ट पारेका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदीय मर्यादा भंग गर्न नहुने भनेर सो दिन आफूहरु नउठेको जिकिर गरे। ‘यसो भन्दैमा हामीले मधेस आन्दोलनको सहिदको अपमान गरेको भन्न पाइँदैन, यो गलत कुरा भइरहेको छ, यो गलत कुरा लान पाइँदैन,’ उनले भने ।
उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने पनि स्पष्ट पारे। ‘संसदको मर्यादा हुन्छ, यहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिनँ भने, म भावनामा बगें भने संसदमा परम्पराबस्दैन,’ उनले भने, ‘कि सभामुखले रुलिङ गर्नुप¥यो कि मेरो प्रधानमन्त्री उठ्नुपर्यो,’ उनले भने।
माघ ५ गते संसद बैठक चलिरहेका बेला रोस्ट्रममा बोलिरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस आन्दोलनका सहिदको सम्झनामा सबैलाई उठेर मौनधारण गर्न आग्रह गरेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलगायत केही सांसद उठेका थिएनन्।











