Kathmandu Press

विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे 

सभामुखमा निर्वाचित भएपछि आज (शनिबार) पहिलोपटक बैठक सञ्चालन गर्ने क्रममा कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुअघि सदनमा आफ्नाे केही भनाइ राख्ने क्रममा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे 

काठमाडौं, माघ ७ : सभामुख देवराज घिमिरेले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभामुखमा निर्वाचित भएपछि आज (शनिबार) पहिलोपटक बैठक सञ्चालन गर्ने क्रममा कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुअघि सदनमा आफ्नाे केही भनाइ राख्ने क्रममा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

त्यसक्रममा उनले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिए। सदनमा सबैको आवाजलाई बुलन्द हुन दिने, दलहरुका बीचमा हुने स्वस्थ प्रतिस्पर्धा र विवादहरुमा निष्पक्ष भएर समन्वयकारी भूमिका खेल्ने पनि सभामुख घिमिरेको प्रतिबद्धता छ।

‘नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बर्द्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन,’ उनले भने, ‘नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो।’

संसदमा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता भएको उल्लेख गर्दै उनले त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गर्ने विश्वास दिलाए। ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’को भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्नेमा आफू सचेत रहेको उनले बताए।

‘नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो यही प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्नेछन् भन्ने पूर्ण अपेक्षाका साथ माननीय सदस्यहरुमार्फत सम्पूर्ण राजनीतिक दलहरुलाई आवश्यक सहयोगका लागि सादर अनुरोध गर्न चाहन्छु,’ उनले भने।

प्रतिनिधि सभा राष्ट्रियता, जनजिविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानून बनाउने आफ्नो मुलभूत कार्य प्रति सदैव क्रियाशील रहनेछ भन्ने विश्वास पनि उनले व्यक्त गरे। ‘राजनीतिक दलहरुका बीचमा यदाकदा संसदमा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मवाट समाधान गर्न म सदैव क्रियाशील रहनेछु । प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुलाई त्यस प्रयोजनका लागि सभामुखको कार्यकक्ष सदैव खुल्ला रहनेछ,’ उनले भने।

सभा सञ्चालनका लागि सभामा उपस्थित सबै सांसदको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताका लागि उनले अनुरोध गरे। उनले आफू आबद्ध रहेको राजनीतिक दल एमालेसँगको सबै प्रकारको आबद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरिसकेको जानकारी गराउँछु।

‘प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘यो प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नु हुने ज्येष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्